नियम ५६
केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुखको काम, कर्तव्य र अधिकार
प्रहरी प्रधान कार्यालयको निर्देशन र नियन्त्रणमा रहने गरी आफ्नोे जिम्मेवारी क्षेत्रभित्र केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–
(क) सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को अनुसूची –१ बमोजिम सम्वन्धित प्रहरी कार्यालयवाट अनुसन्धान तहकिकात हुने अपराधहरु मध्ये जघन्य, संगठित, वा सार्वजनिक चासो वा बहुराष्ट्रिय प्रकृती वा मानव अधिकारको गम्भिर उल्लङ्घन वा आर्थिक, उच्च प्रविधियुक्त जघन्य एवं राष्ट्रिय हित वा सरोकारका दृष्टिले अति संवेदनशिल महशुस गरी राष्ट्रिय चिन्ता र चासो बन्ने प्रकृतिका अपराधहरूको
सम्बन्धमा प्रहरी महानिरीक्षकले तोकिदिएका अपराधहरुको अनुसन्धान तहकिकात गर्ने,
(ख) कुनै प्रहरी कार्यालयको अधिकारक्षेत्र भित्र पर्ने भए तापनी त्यस्तो अपराधको अनुसन्धान तहकिकात व्यूरोले गर्दा बढी प्रभावकारी हुने भनी सम्बन्धित प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालयमा अनुरोध गरी पठाएकोमा प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान बिभागको प्रमुखको सिफारिसमा प्रहरी महानिरीक्षकबाट तोकिएका अपराधहरुको अनुसन्धान गर्ने,
(ग) अपराध अनुसन्धान तहकिकातको निमित्त अन्य कार्यालयबाट आवश्यक सहयोगका लागि अनुरोध भई आएमा आवश्यकता अनुसारको सहयोग उपलब्ध गराउने,
(घ) तालुक कार्यालयले दिएको निर्देशन पालना गर्ने वा गराउने र प्रचलित कानूनले निर्दिष्ट गरेबमोजिम अन्य कार्यहरू गर्ने वा गराउने ।